उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान

साझेदारी दैनिक
साझेदारी दैनिक 15 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाण्डौं : यही मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तहउपनिर्वाचनको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।

निर्वाचन आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बुधबार एक विज्ञप्ति जारी गरी उम्मेदवारहरुलाई निर्वाचन चिन्ह पनि प्रदान गरिएको जनाइएको छ।

जिल्ला समन्वय समिति प्रमुख,नगरपालिका प्रमुख,उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट२८९जना र १२१जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१०जनाको मनोनयनपत्र दर्ता भएको हो । यसमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार श्री टेकराज भट्टराई र श्री टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन्। रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगागाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार श्री जगत घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वि.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गराएनन्।

यस अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको छ।

निर्वाचन कार्यक्रम अनुसार बिहीबार देखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार प्रसार गर्न सक्नेछन्। १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचार प्रसार निषेध अवधि तोकिएको छ।

निर्वाचन आयोगको निर्णय अनुसार निर्वाचन आचारसंहिता ०२ गतेदेखि जारी भइसकेकोले उक्त आचारसंहिताको अक्षरशः पालना गरी निर्वाचन प्रचार प्रसारको कार्य गर्नु गराउनुहुन सम्बन्धित राजनीतिक दल,उम्मेदवार तथा निर्वाचन सरोकारवालाहरूलाई आयोगले अनुरोध गरेको छ।

१६गते आइतबारका दिन विहान ७ः००बजेदेखि अपराह्न ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने हुँदा मतदान कार्यमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोगले सम्बन्धित सबै मतदाताहरूलाई आह्वान गरेको छ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न