जीतपुर : बारा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १० को वडा कार्यालय अब नव निर्मित दुई तले भवनबाट सञ्चालनमा आएको छ ।
नवनिर्मित भवनको पूर्व मन्त्री किसान श्रेष्ठ, प्रदेश सभा सदस्य देवनारायण चौधरी,नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले शिलापत्र अनावरणसहित रिबन काटेर समुद्घाटन गरेका छन ।
उक्त वडा कार्यालय भवन जीतपुरसिमरा उपमहानगरपालिकाको १ करोड रुपियाँको लागतमा निर्माण गरिएको वडाध्यक्ष संजय प्रसाद पटेलले जानकारी दिएका छन । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवन संचालनमा आएपछि स्थानीयहरु खुशी भएका छन् ।
बर्षौ देखि एउटै कोठाबाटै सञ्चालन हुदैँ आएको साघुरो भवन बाट सेवा दिदै आएको वडा कार्यालयले आफ्नै भवन निर्माण गरेर संचालनमा ल्याएपछि सेवाग्राहीहरु खुशी भएका छन् ।
एउटा कोठा भएको कच्ची भवन बाट वडा कार्यालय संचालन भईरहेको बेला सेवा लिन जाने सेवाग्राहीहरुलाई सास्ती खेप्नु परिरहेको थियो तर अब वडाले आफ्नै नवनिर्मित २ तल्ले वडा कार्यालय भवन संचालनमा ल्याए पछि सेवाग्राहीहरुले सहज भएको छ ।
उद्घाटन कार्यक्रमको संचालन वडा सचिव कृष्णनाम चौधरीले गरेका थिए । वडा नम्बर १० को कार्यालय करिब ८ बर्ष देखि साँघुरो भवनमा सञ्चालन हुँदै आएको थियो ।