कलैया : यही मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेस होमिएको छ।
मधेश प्रदेशमा रिक्त रहेको स्थानीय तहको रिक्त रहेको सात वटा वडा अध्यक्ष पदमा जिताउन कांग्रेसले निर्णय गरेको हो।
कांग्रेसको मधेस प्रदेश कार्य समितिले स्थानीय निकायको उप– निर्वाचनमा सात वटै वडा स्तरको निर्वाचन क्षेत्रमा प्रभावकारी बनाउन विभिन्न उप समिति बनाई परिचालन गर्ने निर्णय गरेको छ ।
वडा स्तरमा हुने उप–निर्वाचनमा उमेदवारलाई टिकट दिइ जिल्लाबाट आएको सिफारिस अनुसार प्रदेश स्तरको संसदीय समितिले निर्णय गर्ने भएको हो ।
उक्त बैठकले आवश्यकता मधेस प्रदेशमा अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ। कार्तिक शनिबार २४ गते नेपाली काँग्रेस मधेश प्रदेश पदाधिकारी एवम् कार्य–सम्पादन समितिको बैठकले गरेको निर्णयलाई समेत अनुमोदन गर्ने भएको छ ।
मधेश प्रदेशका सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ को वडा अध्यक्ष पदमा उप निर्वाचन हुन गइरहेको छ। यस्तै धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १को वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन गइरहेको छ।
महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर दुई, रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर–७,रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर –६ र रौतहटको गढीमाई नगरपालिका वडा नम्बर–८ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
उप निर्वाचनमा सम्पूर्ण पार्टी पंक्तिलाई केन्द्रीत हुन आह्वान गरिएको छ।
उप निर्वाचनलाई परिणाममुखी बनाउन धनुषामा पुर्व मन्त्री रामशरोज यादवलाई जिम्मेवारी दिइएको छ। सप्तरीमा महामन्त्री उपेन्द्र यादव,सहमहामन्त्री पर्शुराम चौधरी,महोत्तरीमा नरेन्द्र यादव, रौतहटका लागि सहमहामन्त्री जयनारायण यादव,प्रदेश सदस्य सुर्या बाहादुर थापालाई जिम्मेवारी दिईएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल वनाउन प्रदेश स्तरीय दुई दलीय राजनीतिक संयन्त्र बनाउने केन्द्रीय निर्णयानुसार नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभापति कृष्णा यादवको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र निर्माण गरिएको छ ।
१०० दिने केन्द्रीय अभियान र क्रियाशील सदस्यता वितरण लगायत प्रदेश मातहतका निकायहरू सुपरिवेक्षण र समन्वयका लागि ८ वटै जिल्लामा खटाएका प्रदेश पदाधिकारी सदस्यहरूको केन्द्रीय प्रतिनिधि र जिल्लामा जानकारी दिंदै जिम्मेवारी निर्वाहलाई प्रभावकारी बनाउने प्रदेश समितिले निर्णय पारित गरेको जानकारी नेपाली कांग्रेस मधेस प्रदेशका प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिएका छन् ।