वीरगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पर्साले पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा शनिबार वीरगञ्जमा र्याली निकालेको छ।
वीरगञ्जको घण्टाघरबाट पार्टीका नेता कार्यकर्ताहरुले शान्तिपूर्ण निकालेको -यालीले वीरगञ्ज महानगरको विभिन्न भागको परिक्रमा गरेको थियो।
घण्टाघरमा आएर कोण सभा समेत सो पार्टीले गरेको छ। लामिछानेको पक्राउको बिरोध गर्दै शव यात्रा निकालिएकामा प्रहरीले हस्तक्षेप गरेको थियो।
रास्वपाका कार्यकर्ताहरुले भ्रष्टाचारी सरकार मुर्दाबाद,राजनीतिक प्रतिशोध साध्न पाईदैन,अधिनायकवाद चल्दैन,कानुनको गलत दुरुपयोग गर्न पाईदैन लगायतका प्लेकार्ड बोकेका थिए। उनीहरुले आफ्नो अस्तित्व खतरामा पर्दा देशका सच्चा ईमान्दार ब्यक्तिलाई बलि चढाउन पाईदैन,सरकार मर्यो, हामीलाई जुठो पर्यो भन्ने नाराहरु लेखिएको प्लेकार्ड बोकेर र्यालीमा सहभागिता जनाएका थिए।
कोण सभालाई सम्बोधन गर्ने रास्वपाका नेताहरुले सरकारले प्रतिशोध स्वरुप लामिछानेलाई पक्राउ गरेको बताएका थिए। सरकारले लामिछानेलाई पक्राउ गरी आफ्नो नाङ्गोपना देखाएको आरोप उनीहरुले लगाएका थिए।
ठुलो भ्रष्टाचार गर्ने सरकार आफै भएको तर सहकारी रकम हिनामिनामा संलग्नता नदेखि आफना पार्टीका सभापतिलाई पक्राउ गरेर सरकार तानाशाहको बाटो हिडेको उनीहरुको भनाई थियो।
कोण सभालाई रास्वपाका केन्द्रिय सदस्य डा.नन्दन यादव,पर्सा सँयोजक हरि पन्त,पुर्ब सँयोजक दिलिप कुर्मी लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।
सहकारी रकम हिनामिना तथा अपराधिक लाभ सम्बन्धी कसुरमा प्रहरीले शुक्रबार कास्की अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गरेको थियो ।
उनलाई शुक्रबार राति नै कास्की पठाइएको छ। उनलाई आईतबार अदालतमा पेश गरिनेछ।