वेस्ट बैङ्कमा मारिएका अधिकारकर्मीको शव टर्कीए ल्याइयो

रासस
रासस 82 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कब्जा गरिएको वेस्ट बैंकमा इजरायली अवैध इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा इजरायली सेनाले गोली हानेर मारिएका एक अमेरिकी र टर्कीएको दोहोरो नागरिकता भएका अभियानकर्मीको शव शुक्रबार टर्कीए ल्याइएको छ ।

गत हप्ता मारिएका २६ वर्षीय आइसेनुर एज्गी आइगीको हत्याको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेको आरोप लगाएको छ ।

इजरायली सेनाले उक्त क्षेत्रमा गोली चलाएको स्वीकारेको छ र घटनाको अनुसन्धान गरिरहेको बताएको छ । इस्तानबुलका गभर्नर डावुत गुलसहित टर्कीका अधिकारीहरू इस्तानबुलको विमानस्थलमा आयोजित समारोहमा सहभागी भएका थिए । उनीहरूले टर्कीको झण्डामा बेरिएको कफिनअघि प्रार्थना गरेका थिए।

अङ्काराले पश्चिम किनाराको शहर बेइटामा भएको विरोध प्रदर्शनका क्रममा आइगीको मृत्युबारे अनुसन्धान सुरु गरेको छ । उसले संयुक्त राष्ट्रसङ्घलाई पनि हत्याको स्वतन्त्र छानबिन गर्न आग्रह गरेको छ ।

गाजामा इजरायली युद्धका कट्टर विरोधी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ‘आइगीको हत्याका दोषीलाई कानुनी कारबाही होस्’ भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँको परिवारले अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी रहेको इजरायली बस्ती विस्तारविरुद्ध साप्ताहिक प्रदर्शनका क्रममा उहाँको टाउकोमा गोली लागेको र उक्त गोली इजरायली सैनिकले चलाएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायललाई ‘पूर्ण जवाफदेहिता’ प्रदान गर्न आह्वान गर्दै यस्ता हत्याबाट बच्नका लागि ‘थप कदम चाल्न’ आग्रह गर्नुभएको छ ।

युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ जोसेप बोरेलले पश्चिम किनारामा बढ्दो हिंसाका कारण गाजा ’नयाँ गाजा’ बन्ने खतरा बढेको बताउनुभएको छ ।

आइगीको परिवारले शनिबार पश्चिमी तटीय शहर दिदिममा उहाँको अन्त्येष्टि गर्ने बताएकोे छ । ’यो दुःखद छ तर यो दिदिमका लागि गर्वको विषय पनि हो किनकि हाम्री चेलीले मानवताका लागि शाहदत प्राप्त गरेकी छन्,’ आइगीका काका ६७ वर्षीय अली टिक्किमले बुधबार भन्नुभयो ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न