बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

रासस
रासस 127 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज (पर्सा),९ भदौः मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् ।

मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर रु तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रकम विनियोजन गरेको थियो ।

प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात् रु तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रकम खर्च भएको जानकारी दिनुभयो ।

“गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ । गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ”, उहाँले भन्नुभयो, “बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ ।” उहाँले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढङ्गले गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले बाराका १६ पालिकाका लागि रु २० करोड ४२ लाख ३६ हजार बजेट विनियोजन गरेकामा सो अवधिमा रु १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रकम खर्च गरेका छन् ।

बाराका सरकारी कार्यालयले गत आवमा रु ११ करोड ११ लाख ७७ हजार चार सय २७ रकम सङ्कलन गरेका छन् । प्रदेश लेखा एकाइ कार्यालयको कार्यक्षेत्र बारा र पर्सा हुन् ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न