पर्सा र बारामा बढ्यो चरेश र गाँजाको तस्करी

राम मण्डल
राम मण्डल 70 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

पछिल्लो तीन आर्थिक बर्षमा मधेस प्रदेशको पर्सा र बारा जिल्लामा लागु औषधको तस्करी बढदै गएको पाइएको छ ।

यी दुबै जिल्लाका प्रहरी तथ्यांकले यस्को पुष्टि गरेको हो । लागुऔषध चरेश र नेपालमा प्रतिबन्धित रहेको गाँजा बढी मात्रामा तस्करी हुने गरेको छ ।

भारतसित खुल्ला सिमानाका कारण लागुऔषध कारोबारीहरुले नेपालबाट भारततर्फ बढी गरेर भरिया मार्फत लागु औषधको तस्करी गराउने गरेका छन ।

बितेको आर्थिक बर्ष ०८०/८१ मा ९१ किलो चरेश र चार क्विन्टल गाँजा पर्सामा बरामद भएको छ । आव ०७९/८० मा भने एक क्विन्टल १४ किलो र आव ०७८/७९ मा भने जम्मा २३ किलो चरेश पर्साबाट बरामद भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक घिमिरेले साझेदारी दैनिकलाई जानकारी दिए ।

गाँजा भने आव ०७९/८० मा एक हजार एक सय ६५ किलो तथा आव ०७८/७९ मा एक हजार तीन सय ५० किलो बरामद भएको उनले बताए । पर्सामा यस बर्ष लागुऔषध सम्बन्धी दुई सय ४ वटा मुद्दा दर्ता भएको छ ।

यी मुद्दामा दुई सय ५२ जना नेपाली र २८ जना बिदेशी नागरिकहरुलाई पक्राउ गरिएको छ ।बारामा आव ०८०/८१ मा ४५ किलो २३ ग्राम चरेश र दुई हजार ५४ किलो गाँजा बरामद भएको छ ।

पछिल्लो तीन आवमा बारामा बितेको आवमै सबै भन्दा बढी लागुऔषध चरेश र गाँजा जिल्लाबाट बरामद भएको हो । आव ०७९/८० मा २४ किलो चरेश र एक हजार ५१७ किलो ५५० ग्राम गाजा बरामद भएको थियो ।

त्यस्तै आव ०७८/७९ मा भने जम्मा सात किलो ५० ग्राम चरेश र र पाँच सय ३६ किलो गाँजा बरामद भएको थियो ।यस आँकडा अनुसार जिल्लामा पछिल्लो तीन आर्थिक बर्षमा चरेश र गाँजाको तस्करी बढदै गएको देखिन्छ ।

लागुऔषधको तस्करी बढेसँगै प्रहरीले यसम सम्बन्धी मानिस पक्राउ र मुद्दा दर्ता पनि बढी गरेको छ ।बितेको आवमा जिल्लामा कुल एक सय ३७ जना पक्राउ पर्दा ९२ जना बिरुद्ध मुद्दा दर्ता भएको थियो ।

आव ०७९/८० मा भने ९५ वटा मुद्दा दर्ता हुदा एक सय ३८ जना पक्राउ परेका थिए । आव ०७८/७९ मा भने लागु औषध सम्बन्धी जिल्लामा ७५ वटा मुद्दा दर्ता गरिएको थियो। एक सय २३ जना पक्राउ परेका थिए ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न