पर्सामा ठूलो परिमाणका लागुऔषधसहित कारोबारी धमाधम पक्राउ

रासस
रासस 92 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज (पर्सा), २ भदौ । पर्साको ग्रामीण भेगबाट ठूलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ ।

पर्सा प्रहरीले पछिल्ला दिनमा ठूलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालयले गत साउन ३१ गते चार सय ८९ किलोग्राम लागुऔषध चरेससहित कालिकामाई गाउँपालिका–१ मुडली बस्ने फुलसरिफ मियाँलाई पक्राउ गरेको हो ।

प्रहरीले मियाँले बाँसघारीमा खाल्डो खनेर लुकाइराखेको एक सय ९२ किलोग्राम चरेस,दुई सय ६७ किलोग्राम लागुऔषध गाँजाको धुलो (पोलान्ड) र ३० किलोग्राम गाँजा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोध ढुङ्गेलले विशेष सूचनाका आधारमा पर्साको ग्रामीण क्षेत्रबाट ठूलो परिमाणको लागुऔषध चरेस र गाँजासहित पक्राउ गर्दै आइरहेको बताउनुभयो ।

“हामीले पर्साका ग्रामीण क्षेत्रमा लागुऔषधको तस्करी हुने सम्भावित क्षेत्रमा उच्च निगरानी गर्दै आइरहेकाले पनि ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले साउन १७ गते पनि ५० किलोग्राम गाँजासहित ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौंलाई पक्राउ गरेको थियो । गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा सो गाँजा भेट्टाएको थियो ।

प्रहरीका अनुसार आव २०८०/८१ म लागुऔषध सम्बन्धित दुई सय चार मुद्दा दर्ता भएका थिए । त्यस्तै, आव २०७९/८० मा तीन सय दुई र आव २०७८/७९ मा भने दुई सय ३७ लागुऔषधका मुद्दा दर्ता भएका थिए । प्रहरीले आव २०८०÷८१ मा चार सय १० किलोग्राम गाँजा बराबद गरेको थियो ।

त्यस्तै, आव २०७९/८० मा भने एक हजार एक सय ६५ किलोग्राम र आव २०७८/७९ मा पनि एक हजार तीन सय ५० किलोग्राम लागुऔषध बरामद गरेको थियो ।

चरेस पनि आव २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिमा क्रमशः २३,एक सय ४३ र ९१ किलोग्राम बरामद गरेको थियो ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न