थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

रासस
रासस 123 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ,३१ साउनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गर्नुभएको थियो । उक्त रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो ।

कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन् ।

कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । यससँगै देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले गत आइतबार सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख गर्नुभएको थियो । “आमनागरिकले सहज तरिकाले क्यान्सर उपचार सेवा पाउने गरी यसको विस्तार गर्ने हाम्रो नीति हो, यसै अनुरुप विस्तारलाई प्राथमिकतामा राखेर काम गरेका हौँ । सङ्घीय अस्पतालको सेवा विस्तारसँगै अब आम नागरिकको क्यान्सर उपचार सेवा पहुँच सहज हुने विश्वास लिएको छु”, मन्त्री पौडेलले भन्नुभयो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले अब बिरामीले सङ्घीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने बताउनुभयो । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा थप सहायता पाउने उहाँको भनाइ छ । स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्ति पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अहिले सङ्घ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । कार्यविधि स्वीकृत भएसँगै ती अस्पतालले तत्काल सेवा उपलब्ध गराउन प्रक्रिया थाल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न