पाठ्यपुस्तक बिक्रीमा कमी

रासस
रासस 22 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जनकपुरधाम,२९ साउन । सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधाममा विगतको तुलनामा शैक्षिक सत्र २०८१ मा पाठ्यपुस्तक बिक्रीमा रु दुई करोड ७० लाखले कमी आएको छ ।

सो कार्यालयले गत शैक्षिक सत्र २०८० मा रु २६ करोड मूल्य बराबरको किताब बिक्री गरेको थियो । यस वर्ष रु २३ करोड ३० लाख मूल्य बराबरको किताब बिक्री गरेको बताइएको छ ।

गत शैक्षिक सत्र २०८० को तुलनामा शैक्षिक सत्र २०८१ मा रु दुई करोड ७० लाखले पाठ्यपुस्तक बिक्रीमा कमी आएको हो । यस वर्षको वैशाखदेखि असारसम्म पाठ्यपुस्तक बिक्री भएको हो ।

कार्यालयका अनुसार चालु शैक्षिक सत्र २०८१ मा कार्यालयले कक्षा १ देखि १२ सम्मका लागि २२ लाख ६४ हजार छ सय ८३ थान पाठ्यपुस्तक बिक्री गरेको छ । मधेस प्रदेशको आठ जिल्लालगायत पहाडी जिल्ला ओखलढुङ्गा,उदयपुर र सिन्धुलीमा रहेका ९६ आधिकारिक बिक्रेतामार्फत सो पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख रुद्र खनालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुसँग पुरानो पाठ्यपुस्तक भएको तथा विद्यार्थीहरुले बीचमा पढाइ छाडेकाले शैक्षिक सत्र २०८० को तुलनामा यस शैक्षिक शत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी आएको अनुमान खनालको छ । अहिले सो कार्यालयसँग ३५ प्रतिशत अर्थात् आठ लाख थान पाठ्यपुस्तक मौज्दात रहेको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न