रौतहट प्रहरीबाट एक वर्षमा २३ हजार भन्दा बढीले लिए सेवा,एक हजार भन्दा बढी मुद्दा दर्ता,अधिकांश फर्छ्यौट

साझेदारी दैनिक
साझेदारी दैनिक 111 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

ओम प्रकाश यादव/

जिल्ला प्रहरी कार्यालय गौर रौतहटले एक वर्षको अवधिमा गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरिएको मुख्य–मुख्य कार्यको प्रगति विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको प्रगति विवरण अनुसार एक वर्षमा विभिन्न कसुर र अपराधको गरी १ हजार भन्दा बढी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चोरी,तस्करी,हत्या,हिंसा,बलात्कार,लागु औषध,जाली नोटको कारोवार,हुण्डी कारोवार सम्बन्धी लगाएतको विषयमा गरी २०८० साल साउनदेखी २०८१ साल असार मसान्त भित्रमा कुल १ हजार ७७ मुद्दा दर्ता भएकोमा ६ सय ५२ मुद्दा फर्छ्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दीलिप घिमिरेले बताएका छन् ।

सो अवधिमा विभिन्न अपराधमा संलगन ७ सय १५ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक घिमिरेले बताए । फैसला कार्यान्वयन गर्दा पक्राउ परेका मध्ये ६ सय ८८ जनामाथी मुद्दा दर्ता गरी कार्यवाही गरिएको उनले बताए ।

उनिहरुलाई १ सय ७ वर्ष ५ महिना २१ दिन कैद सजाय र ३८ लाख ४८ हजार ७ सय ७८ रुपैयाँ जरिवाना गरिएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै श्रोत नखुलेको रकम सहित ६ जनालाई पक्राउ गरिएको र उनिहरुबाट ३० लाख ६५ हजार ६ सय ६० रुपैयाँ बरामद गरिएको छ ।

भन्सार छली भारतबाट विभिन्न मालसामानको तस्करी गर्दै गरेको अवस्थामा मोटरसाइकल,बोलेरो,ट्रक,टेम्पो,कार,स्कुटर र साइकल गरी १ सय ४१ वटा सवारी साधन नियन्त्रणमा लिइएको र सो क्रममा ४४ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।

विभिन्न मुद्दा र कसुरमा पक्राउ परेकाहरुमाथी कार्यवाही गर्दा एक वर्षमा ४ करोड ९१ लाख ९३ हजार ४ सय ५६ रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

त्यस्तै जिल्लाभरीको प्रहरी कार्यालयहरुबाट एक वर्षको अवधिमा २३ हजार ५ सय ६९ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ ।

सो क्रममा ५ हजार १७ उजुरी तथा ठाडो निवेदन दर्ता भएको र त्यस मध्ये ४ हजार २ सय फर्छ्यौट भइसकेको छ । मिटर व्याज सम्बन्धी १ हजार ५ सय ७५ उजुरी परेकोमा ४८ वटा मात्र फर्छ्यौट भएको जिल्ला प्रहरी कार्यालय गौरको प्रगति विवरणमा उल्लेख छ ।

जघन्य अपराध तर्फ विभिन्न १३ वटा मुद्दामा सफल अनुसन्धान गरी दोषी अर्थात अपराधीलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डएसपी एलिजा गिरीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न