साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

रासस
रासस 124 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
साउन महिना लागेसँगै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं १ स्थित हटियामा हरियो,पहेंलो चुरा लगाउँदै महिला तथा बालिका । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

जलेश्वर (महोत्तरी),२ साउन । साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ ।

जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

जिल्लाको जलेश्वर,मटिहानी,बर्दिबास,गौशाला,औरही,बलवा,मनरा,पिपरा,भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा रु सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिनुभयो । यसअघिका वर्षमा पनि साउनमा मात्रै रु ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उहाँले बताउनुभयो ।

सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, शृङ्गार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा चुरापोते किन्ने महिला,किशोरी,युवतीहरुको घुइँचो लाग्ने गरेको जलेश्वर–२ का शृङ्गारको व्यापारी राम महतोले बताउनुभयो ।

जिल्लाका अधिकांश हाटबजारमा हरियो,पहेँलो,रातो चुरा तथा पोते किन्ने महिलाको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

विवाहित महिलाले अनिवार्य रुपमा हरियो चुरा र पोते लागने परम्पराले गर्दा साउनमा अन्य समयको तुलनामा बढी व्यापार हुने गरेको जलेश्वर–२ का शृङ्गार व्यापारी मुस्ताक अन्सारीले बताउनुभयो ।

“जिल्लामा यसअघिका साउनमा चुरापोतेको व्यापारबाट रु ३० लाखसम्म आम्दानी हुन्थ्यो । यस वर्ष दुई दिनको व्यापारको अवस्थाले आम्दानी बढी हुने अनुमान गरेका छौँ”, वाणिज्य सङ्घका महासचिव चौधरीले भन्नुभयो ।

जलेश्वर बजारमा दैनिक चुराको बेच्दै आउनुभएकी मुस्ताक लहेरीले दुई दिनमा रु १० हजारभन्दा बढी आम्दानी भएको बताउनुभयो । गत वर्ष महिनाभरि रु एक लाख आम्दानी भएको जनाउँदै यो वर्षको साउनमा तुलनात्मक रुपमा बिक्री बढेकाले आम्दानी पनि बढी हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।

गौशाला बजारकी बेचनी खातुनले दुई दिनमा रु १५ हजार, बलबा बजारकी फुलगेन लहेरी र औरही बजारकी दुखनी खातुनले समान रु २० हजार,मनराकी हरीया लहेरनीले रु १५ हजारको चुरापोते व्यापार भएको बताएका छन् ।

साउन लागेसँगै जिल्लाका प्रत्येक गाउँ तथा सहरका चुरा पसलमा हरियो चुरा र पोते लगाउने महिलाको घुइँचो लाग्ने गरेको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न