आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना

रासस
रासस 172 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ, २० असार । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

कोशी,मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी,बागलुुङ,कास्की,पर्वत,स्याङ्जा,तनहुँ,नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु,रुपन्देही,पाल्पा, अर्घाखाँची,गुल्मी,प्यूठान,नवलपरासी पश्चिम,रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ ।

कर्णाली प्रदेशको जाजरकोट,दैलेख,रुकुमपश्चिम,कालीकोट,जुम्ला,हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा,डोटी,अछाम,दार्चुला,बझाङ,बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।

विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबारदेखि आइतबारसम्म भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको,ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।

दैनिक जनजीवन,कृषि,स्वास्थ्य,पर्यटन,सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न