झारफुकको काम गर्ने दुई जना बाराली झाक्रीको पर्सामा हत्या,तीन जना पक्राउ

राम मण्डल
राम मण्डल 98 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराका दुई जना ब्यक्तिको हत्या गरेका तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सास्थित नेपाल भारत सीमानाकाको दशगजामा पुर्‍याएर उनीहरुको हत्या भएको हो ।

गत जेठ १९ गते पर्साको जगरनाथपुर गाउँपालिका–१ ओरिया खोलाको किनारमा दशगजामा गाडिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो । बाराको कलैया उपमहानगरपालिका–६ का रामएकबाल पण्डित कुम्हार र आदर्श कोतवाल गाउँपालिका–७ घर भई कलैयामा बस्दै आएका सुरेश ठाकुर लोहारकोे हत्या गरेर गाडिएको अवस्थामा शब भेटिएको थियो ।

दुबै जनालाई बोलाएर पर्सास्थित दशगजा क्षेत्रमा हत्या गरी गाडने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा हत्याका मुख्य योजनाकारहरु बाराको कलैया उपमहानगरपालिका–५ बस्ने लक्ष्मणकुमार प्रजापति, पर्साको जगरनाथपुर गाउँपालिका–५ बस्ने सन्तोषप्रसाद कुम्हार र सोही स्थानका महादेव महतो नुनिया रहेका छन् । मृतकहरु दुबै जना गाउँघरमा नै झारफुकको काम गर्ने धामी झाक्री रहेका हुन् ।

सोही झारफुक गर्ने बहानामा बोलाएर उनीहरुको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दुबैजनाको पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाका मुख्य योजनाकार प्रजापतिले मृतक दुबै जनालाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भनि लगेका थिए । उनले कलैयाबाट बस चढाई वीरगञ्जको प्रतिमा चोकमा ओर्लेका थिए ।

त्यहाँबाट पर्साकै बिन्दबासिनी चोकमा पुगेर पक्राउ परेका दुबै जना मृतकहरुलाई मोटरसाईकलमा बसाएर हुलाकी सडकबाट लखनपुर पु¥याई नहरको बाटो हुँदै घटनास्थल जगरनाथपुर गाँउपालिका–१ बिसुनपूर्वास्थित ओरिया खोलामा लगेका थिए ।

त्यहाँ प्रजापतिले आठ लाख रुपैयाँ लिएर हत्याको सुपारी पाएका दुईजना आएर तीनजना मिलेर मृतकहरुकै साथमा रहेको गम्छाले घाँटी बाँधेर हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

हत्या पश्चात मृतकको शवलाई तीनैजना मिलेर ओरीया खोला तटमा गाडेका थिए । सोहीे हत्यामा संलग्न रहेका मुख्य योजनाकार दुई जनालाई वीरगञ्ज महानगरपालिका–१५ र एक जनालाई जगरनाथपुर गाउँपालिकाबाटै पक्राउ गरिएको भारतीले बताए ।

पक्राउ परेका तीनैजनालाई ज्यान सम्बन्धी कसुरमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उनले बताए । घटनामा संलग्न रहेका अन्य मानिसहरुको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न