जीतपुरसिमराका नगर प्रहरी आधारभुत तालिम सकिएर सुरक्षाका लागि तयार

रञ्जन यादव
रञ्जन यादव 155 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकामा एक जना प्रहरी साहयक निरिक्षक (असई) सहित १३ जना नगर प्रहरी आधारभुत तालिम सकिएर आईतबारदेखि फिल्डमा खटिने भएका छन् ।

उपमहानगरपालिकाले सशस्त्र प्रहरी बल ४० न गण पिलुवामा एक महिना तालिम लिएका नगर प्रहरीलाई शुक्रबार दर्जान्ही चिन्ह(फुली)र प्रमाणपत्र प्रदान गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले लिखित,शारीरिक र अन्तर्वार्ताबाट भर्ना लिएका १३ जना नगर प्रहरीलाई सार्वजनिक सुरक्षा,भीड,दंगा नियन्त्रण,विपद् व्यवस्थापन तालिम,जनसम्पर्क,आपतकालीन सेवा लगायत विषयमा एक महिना तालिम दिन सशस्त्र प्रहरीको क्याम्पमा पठाएको थियो ।

तालिम लिएका नगर प्रहरीको छनोट पनि सशस्त्र प्रहरी बलमार्फत् नै भएको थियो । नियुक्त भएर तालिम प्राप्त नगर प्रहरीलाई मेयर राजन पौडेलले प्रमाणपत्र दिएसँगै आईतबारबाट काममा खटिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

मेयर पौडेलले नगरवासीको सेवाका लागि नगर प्रहरी करारमा नियुक्त गरिएको जानकारी दिए । नगर प्रहरी थप गरिएपछि नगर विकासका लागि पनि सहयोग हुने पुग्ने दाबी गरे । नगर प्रहरीले विकास निर्माण र नगरवासीको हितका लागि काम गर्ने विश्वास उनको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रमुख पौडेलले १३ जना नगरप्रहरी राखेर नगर प्रहरी राख्ने कार्यको सुरुवात गरेका छन् । नगर प्रहरी पास आउट तालिममा बोल्दै ४० न गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्रीले उपमहानगरले आफ्नो गण भित्र तालिम प्रदान गर्ने अवसर दिएकोमा उपमहानगरलाई धन्यवाद ज्ञापन गरे ।

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरीको लागि दर्खास्त परेको मध्य १२ जनालाई छनौट गरेर सशस्त्र प्रहरी बल नेपाल ४० न गण पिलुवाको परिसरमा बैशाख २० गते देखि तालिम दिदै आएको थियो ।नगर प्रहरीलाई प्रशिक्षण दिएका सशस्त्र प्रहरिलाई उपमहानगरले सम्मान समेत गरेको छ ।

उक्त पास आउट तालिम समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेल,जीतपुरसिमराका प्रशासन शाखा प्रमुख रामेश्वर बन्जारा,सशस्त्र प्रहरीहरु लगायतको उपस्थिति रहेको थियो ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न