सहकारी ठगी र नागरिकता किर्ते प्रकरणमा सरकारले अनुसन्धानमा ढिलासुस्ती र लापरवाही गरेको भन्दै पर्साको वीरगञ्जमा नेपाली काँग्रेसले प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस पर्साले मंगलवार वीरगञ्जको माईस्थान चोकबाट सुरु भएको विरोध प्रदर्शन अलखीया मठ,आदर्शनगर,गीता मन्दिर, घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभा गर्दै सम्पन्न गरेको हो ।
पार्टी जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा निकालिएको प्रदर्शनमा सहभागीहरुले सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछाने माथी संसदीय छानविन समिति गठन गरी अनुसन्धान गर्नुपर्ने, वीरगञ्जको माइस्थानमा भएको झडपको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग सहित प्रर्दशन गरेको छ ।
कोणसभामा बोल्दै यसैविच कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले गरेको विरोध कार्यक्रमलाई अवरोध गर्ने घटना प्रति ध्यानाकर्षण भएको बताएका छन ।
प्रदर्शन पछि पार्टीका नेता तथा कार्यकर्ता सहितको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र समेत बुझाएका छन । टोलीले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएको हो ।