अपहरण र ब्यापारीको हत्या प्रकरणमा पर्सा प्रहरीद्वारा भारतीय कुख्यात अपराधि बब्लु पासवान पक्राउ

राम मण्डल
राम मण्डल 143 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले अपहरण र व्यापारीको हत्या गरेको आरोपमा भारतीय कुख्यात अपराधि बब्लु पासवानलाई पक्राउ गरेको छ ।

उसले आईतबार ११ बजे राति वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ भुटनदेबी मन्दिर नजिकै पासवानलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीले दुई राउण्ड गोली चलाएर भारतमा बसेर वीरगञ्जमा ब्यापारीको अपहरण गर्ने,काठमाडौंमा हत्या गर्ने,पर्सालगायत तराईका जिल्लाहरूमा अपराधिक गतिविधि गर्दै आएका कुख्यात अपराधी पासवानलाई पक्राउ गरेको हो ।

बब्लु पासवान भन्ने गणेश कुमारलाई पर्सा प्रहरीले खुट्टामा गोली हानेर राति नै पक्राउ गरेर सार्बजनिक गरेको छ ।

पछिल्लो करिब एक दशकदेखि नेपाल प्रहरीको टाउको दुखाई बनेका पासवान भारत विहारको पूर्वि चम्पारण रक्सौल निवासी हुन् ।पासवानको अपराधिक गतिबिधि निकै लामो संलग्नता रहेको छ ।

नेपालमा लामो समयदेखि हत्या अपहरण,धम्कि लगायतका अपराधिक कार्यमा संलग्न रहदै आएका छन् । ०७३ साल जेठ १३ गते बाराको महागढीमाई नगरपालिका–१ पसाहा पुल नजिकै वीरगञ्जका व्यापारी सुरेश केडियाको अपहरणको मुख्य योजनाकार पासवान रहेको जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनले ०७९ साल असोजमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट चलाउँदै आएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या गरेका थिए ।

हत्याका मुख्य योजनाकार रहेका पासवानले मोहम्मदको टाउकोमा २ गोली,दाहिने हातमा एउटा र दायाँ तिघ्रामा गोली प्रहार गरी हत्या गरेर भारतमा लुकेर बस्दै आएका थिए ।यतिमात्रै नभई पक्राउ परेका पासवानले साना हतियार तथा लागु औषधको कारोवार गर्ने गरेको खुलेको छ ।

नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको,ठुला उधोग व्यवसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको पनि खुलेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

पर्सा प्रहरीले बब्लु भारतबाट बिआर ०५ एल ६१३९ नम्बरको मोटरसाइकलमा नेपाल आएको सूचनाको आधारमा जाँच गरेको थियो । जाँचको क्रममा पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी पक्राउ गरेको हो ।

पक्राउ परेका पासवानको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल एक थान,दुई राउन्ड गोली,४९ ग्राम खैरो हिरोइन,८८० ग्राम गाँजा बरामद गरिएको थापाले जानकारी दिएका छन् ।बायाँ खुट्टामा गोली लागेको पासवानलाई उपचारपछि प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,पर्साले जनाएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न