सूर्य देवताको पूजाआजा गरि निकै श्रद्धापुर्वक मनाईने चैती छठ बारा जिल्ला सहित तराई मधेशका सवै जिल्लाहरुमा मनाईदै छ ।
बाराको सदरमुकाम कलैया सहित १६ वटै स्थीय तहहरुमा आईतवारदेखी श्रद्धा पूर्वक चैती छठ पर्व मनाइएको हो । आईतवार अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पर्व शुरु भएको छ ।
जिल्लाको कलैया स्थित सिद्धेश्वर मन्दिर परिसरको पोखरी,रामजानकी पोखरी,रामपुर,कलैया गाउँ,सिम्रौनगढ,बरियारपुर,पचरौता,कोल्हवी, प्रसौनी,फेटा,सुवर्ण,निजगढ,जीतपुरसिमरा,परवानीपुर लगायतको स्थानमा रहेका नदी,पोखरी र ताल तलैयामा चैती छठ मनाउने व्रतालुहरू घाटमा पुगेका छन ।
व्रतालुहरुले सोमवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ पर्व विधिवत् रूपमा सम्पन्न गरिने कलैयाकी एक व्रतालु महिलाले बताईन ।
छठमा प्रसादका रूपमा केरा,सुन्तला,नरिवल,अदुवा,गहुँको पिठोले बनाइएको ठेकुवा,पुडुकीया,उखुलगायतका प्रसाद बासले बनेको छिटा, दौरा,सुप तथा माटोले बनेको हात्ती,ढकना,दियो र कलश लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ ।
जसलाई शुद्धताको प्रतीकको रूपमा लिने गरिएको छ । कर्तिक र चैत गरी वर्षमा दुई पटक छठ पर्व मनाइन्छ ।