लेखक : नविन गङतान लामा
प्रमुख प्रशासकिय अधिकृत
म्यागङ गाउँपालिका नुवाकोट/
भनिन्छ शिक्षा ज्ञानको ज्योति हो र ज्ञानको ज्योति प्रदान गर्नुहुने नुवाकोट जिल्ला म्यागङ गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरुसँग विभिन्न विद्यालयहरुको अवलोकन र अध्ययन गर्ने एउटा अवसर प्राप्त भयो । यसै अवसर अन्तर्गतको एउटा यात्रामा हाम्रो टिम रामेछाप जिल्लाको पश्चिमी दुर्गम स्थानमा पुगेका थियौं ।
आर्थिक उदारिकरणसँगै नीजि विद्यालयमा आफ्ना छोरा छोरीहरुको उज्वल भविष्य देखिएको वर्तमान अवस्थामा पनि रामेछाप जिल्लाको पश्चिमी दुर्गम भाग सुनापाती गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यामिक विद्यालयले आम रामेछापवासीलाई मात्र नभई करिव १५ जिल्लाका अभिभावकहरुका बालबालिकाहरुलाई उत्कृष्ट एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।
विक्रम सम्वत २०६१ साल देखि प्रधानाध्यापक बन्दै आउनु भएका दल बहादुर बलज्यू तथा उहाँका शिक्षकहरुको समूहको अतुलनीय र अत्यन्तै मिहेनतबाट डहु माध्यामिक विद्यालयले रामेछाप जिल्लामा सामुदायिक विद्यालयहरुमा वि.स. २०७० साल देखि प्रथम स्थान हासिल गर्दै आइरहेको छ। विद्यार्थीलाई आफ्नै छोराछोरीको रुपमा अध्यापन गराउदै आएको उक्त विद्यालयमा हाल १५ जिल्लाका करिव साँढे चार सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन।
त्यस्तै गरी विद्यालयले अब आउँदो दिनहरुमा ७७ वटै जिल्लाका विद्यार्थीहरुलाई पूर्ण आवासिय सुविधा सहित गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको बताउने प्रधानाध्यापक तथा उहाँका शिक्षकहरुले रातदिनको मिहेनत परिश्रम र लगनशिलताका कारण उक्त विद्यालय बागमती प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउने विद्यालयको रुपमा स्थापित हुन सफल भएको छ। डहु माध्यामिक विद्यालयले गत वर्ष २०७९ सालको SEE परीक्षामा २ जना विद्यार्थीहरुले ४ जिपिए, केहीले A+ र A ग्रेड सहित जिल्लाकै प्रथम स्थान हासिल गरेका थियो ।
प्रधानाध्यापकको कार्यभार सम्हाल्दै गर्दा ऋणमा रहेको विद्यालयलाई उत्कृष्ट नतिजा सहित करिव करोडौको मौज्दात सम्म पुर्याउन सफल प्रधानाध्यापक दल बहादुर बलका अनुसार उहाँ विद्यालयमा नै आवासिय रुपमा बस्नु हुने र विहान ४ बजे आफै उठेर विद्यालयको घण्टी बजाउने, छात्रावासका विद्यार्थीहरुलाई जगाउने तथा पढ्न लगाउने काम गर्नु हुन्छ । वि.स. २०६९ सालको एसएलसी परीक्षामा विद्यालयले राम्रो नतिजा ल्याउन नसकेपछि आफ्नो सम्पूर्ण तन मन धन सबै विद्यालयमा सुम्पेका प्रधानाध्यापक आफ्नो परिवारको सदस्य अस्पतालमा हुँदा समेत विद्यालयको विद्यार्थीहरुलाई आफैंले विज्ञान र गणित अध्यापन गराउने गर्नु हुन्थ्यो ।
विद्यालयबाट करिव १० मिनेटको दुरीमा आफ्नै घर भएता पनि कैयौं महिना देखि घरमा पाइला नटेक्नु भएको प्रधानाध्यापक दशैं तिहार लगायत सम्पूर्ण समय विद्यालयमा नै विद्यार्थीहरुसँग व्यतित गर्दै आउनु भएको उहाँको कुराले मनै छोएको छ। नैतिक एवं व्यवहारिक शिक्षाका साथै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको उक्त विद्यालयमा शिक्षकले पेशाका लागी भन्दा पनि Passion का लागि अध्यापन गराउनु पर्छ भन्दै आउनु भएका सहायक प्रधानाध्यापक हिरा बहादुर मोक्तानका अनुसार विद्यालयले शिक्षकहरुलाई समान कार्यविभाजनको सिद्धान्त लागू गरेकाे बताउनु हुन्छ । उक्त विद्यालयको वरीपरी परिसरमा थोरै क्षेत्रफलको आँगन भएता पनि कुशल व्यवस्थापन,हरित एवं बालमैत्री वातावरणले विद्यार्थी,अभिभावक एवं आगन्तुकहरुको मन लोभ्याएको छ। अब उक्त विद्यालयको मुख्य विशेषता यस प्रकार राख्न खोजेको छु ।
१ शिक्षक व्यवस्थापन:
शिक्षणलाई पेशा भन्दा पनि Passion को रुपमा लिने शिक्षकहरु रहेको यस विद्यालयमा गुणस्तरीय शिक्षा दिन सदैव तत्पर उत्साह उमंग रहेका प्रधानाध्यापक सहायक प्रधानाध्यापक तथा विषयगत शिक्षकहरु रहेको पाइयो । विद्यालयले वैज्ञानिक विधि अनुसार कुनै एक शिक्षक विदामा रहँदा अन्य शिक्षकले substitution को रुपमा गई आफ्नो पाठहरु अगाडी बढाउन पाउने र त्यस्ता केही substitution कक्षा लिए बापत १ दिनको विदा पाउने वा ति केही रकम पाउने व्यवस्था गरेको देखियो ।
शिक्षकहरुलाई विद्यालयको छात्रावासमा बस्नु पर्दा विद्यालयले निशुल्क खाना र बासको व्यवस्था गरेको रहेछ । विद्यालयको सम्पूर्ण गतिविधिहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागी विभिन्न १२ वटा विभागमा शिक्षकहरुलाई कार्यविभाजन गरेको रहेछ जसमध्ये केही विभागहरु परीक्षा विभाग, गणित विभाग, विज्ञान तथा प्रविधि, नेपाली विभाग आदि रहेका छन । हरेक विभागले गर्नु पर्ने काम कर्तव्यहरु प्रष्ट सँग उल्लेखित पारेको छ । विद्यालयले सञ्चालन गर्ने आन्तरिक परीक्षामा ग्रीड अनुसार प्रश्न पत्र बनाउने,कुनै विद्यार्थी उक्त विषयमा कमोजर भएमा छलफल गर्ने काम विभागहरुको रहेको देखियो ।
विद्यालयमा कुनै दिन कुनै शिक्षक अनुपस्थित भएमा अनुपस्थित हुने शिक्षकको विवरण तथा र निजको कक्षामा Substitution मा जाने शिक्षकको विवरण प्रार्थना समयमा नै फेसवुक मेसेन्जरको ग्रुप म्यासेसमा पठाउने व्यवस्था रहेछ।
वर्षको २ पटक शिक्षकहरुको मूल्याङ्कन शिक्षकबाट (Peer Evaluation) नै गरिने व्यवस्था गरिएको रहेछ । जस अनुसार गणित शिक्षकले पढाइरहेको कक्षामा अर्को गणित शिक्षकले अवलोकलन गर्ने र निश्चित सुचांकहरुको आधारमा मूल्याङ्कन गरिने रहेछ। साथै हरेक शिक्षकको मूल्याङ्कन विद्यार्थीबाट पनि गरिने रहेछ।
विद्यार्थीहरुलाई निश्चित ढाँचा र सुचांक सहितको मूल्याङ्कन फाराम दिइने रहेछ। विद्यार्थीहरुले आफ्ना शिक्षकहरुको मूल्याङ्कन गरेर विद्यालयमा पेस गरिने र उक्त मूल्याङ्कनमा शिक्षकले कम्तिमा पनि ८० अंक ल्याउनु पर्ने रहेछ । यदि शिक्षकले न्यूनतम अंक पनि ल्याउन नसकेको खण्डमा शिक्षकलाई सुधार गर्न अवसर दिने गरेको रहेछ ।
शिक्षकहरुले विहान ६ बजे देखि साँझ ६ बजे सम्म विद्यालयले तोकेको कुनै पनि समयमा ५ घण्टी अनिवार्य रुपमा अध्यापन गर्नु पर्ने रहेछ। नयाँ नियुुक्ति भएका तथा सरुवा भई आएका शिक्षकहरुलाई कम्तिमा १ वर्ष अर्को शिक्षकको उपस्थितिमा कक्षामा अध्यापन गराउनु पर्ने रहेछ। यस्तो पद्धति अपनाउँदा नयाँ शिक्षकले विद्यालयको पद्धतिलाई आत्मसाथ गर्ने तथा विद्यालयले लिएको उद्देष्य प्राप्तिमा सहज हुने गरेको कुरा प्रधानाध्यापक बताउनु हुन्छ ।
पठन पाठन व्यवस्थान :
विद्यालयको संविधानको रुपमा प्रत्येक वर्षको माघ महिनाको अन्त्य तिर नयाँ शैक्षिक सत्रको लागी क्यालेन्डर निर्माण गर्ने गरेको पाइयो। उक्त क्यालेन्डर अनुसार नै वर्षभरिको गतिविधिहरु निश्चित गरिने रहेछ। बर्षाको महिनामा सरकारले नै बर्षे विदा दिए पनि उक्त विद्यालयमा भने विद्यालय सञ्चालन नै हुने रहेछ। शिक्षकलाई आवश्यक पर्दा विदामा बस्न आग्रह गर्दै आएका प्रधानाध्यापकका अनुसार कामै नपरी विदामा नबस्न अनुरोध गर्ने र विद्यालय सधैं सञ्चालन गर्ने गरेको कुरा बताउनु हुन्छ ।
वर्ष भरी उक्त विद्यालयमा दशैं तिहार र ल्होछार तथा ५२ वटा शनिबार गरी जम्मा ७७ दिन मात्र विदा दिने गरेको र बाँकी २८८ दिन विद्यालय सञ्चालन गर्ने गरेको पाइयो । वर्तमान अवस्थामा विद्यार्थीहरु घरमा अध्ययन भन्दा पनि मोबाइल कम्प्युटरमा अनावश्यक क्रियाकलाप गर्ने समस्या रहेकोले कक्षा ९ र १० का विद्यार्थीहरुलाई विहान ६ बजे देखि साँझ ६ बजे सम्म पठन पाठन हुने तथा कक्षा १० का विद्यार्थीहरु छात्राबासमा अनिवार्य वस्नु पर्ने रहेको छ।
त्यस्तै गरी कक्षा १० का विद्यार्थीहरुलाई अनिवार्य गणित, अनिवार्य विज्ञान तथा अतिरिक्त गणित दिनमा २ पिरियड अध्ययन गर्नु पर्ने तथा शिक्षालाई खुल्ला बनाउन छात्राबासमा रहेका विद्यार्थीहरुले शिक्षकलाई साथीको रुपमा लिइ जुनसुकै समयमा पनि आफूलाई अफ्ठ्यारो प्रश्नहरुको बारेमा छलफल गर्न सक्ने व्यवस्था विद्यालयले मिलाएको रहेछ। कक्षा ८ र कक्षा १० का लागी दशैं अगावै सम्पूर्ण विषयका पाठहरु सकाउनु पर्ने बाध्यात्मक व्यवस्था रहेको उक्त विद्यालयमा अन्य कक्षाहरुलाई भने माघ मसान्त सम्म सम्पूर्ण पाठ सकाउनु पर्ने रहेको व्यवस्था रहेछ।
विद्यालयले कक्षा १० र ८ कक्षाका विद्यार्थीहरुलाई विशेषगरी परीक्षा केन्द्रित रहेर एसईई परीक्षा पूर्व कम्तिमा पनि ८ वटा एसईई मोडलका परीक्षाहरु दिने व्यवस्था मिलाएको छ । ग्रामिण क्षेत्रका न्यून एवम् मध्यम परिवारका बालबालिका अध्ययन गर्ने भएकोले उक्त विद्यालयमा विहान ६ बजे देखि साँझ ६ बजे सम्म अध्ययन गर्दा पनि विद्यार्थीहरुलाई थप कुनै शुल्क असुल नगर्ने एवं शिक्षकहरुलाई पनि दिनमा ५ घण्टी भन्दा बढि अध्यापन गर्नु नपर्ने व्यवस्था मिलाइएको छ।
विद्यार्थीहरु विहान ६ बजे देखि साँझ ६ बजे सम्म विद्यालयमा रहनु परेता पनि दिनको ७ पिरियड तथा बाँकी समयमा स्वःअध्ययन तथा ग्रुप छलफल गर्ने र पाठ सकिएको खण्डमा हरेक विद्यार्थीहरुले सकिसकेको पाठ अगाडि गएर शिक्षकको उपस्थितिमा प्रोजेक्टर मार्फत अध्यापन गराउनु पर्ने देखिन्छ। एक शिक्षकका अनुसार विद्यार्थीले पढेर भन्दा पढाएर धेरै सिक्न सक्ने भएकोले हरेक विद्यार्थीहरुले अनिवार्य रुपमा पढाउनु पर्ने व्यवस्थाको विकास गरेका रहेछन् ।
विद्यालयले कमजोर विद्यार्थीलाई अनिवार्य उपचारात्मक कक्षा तथा सघन उपचार कक्षाहरु सञ्चालन गर्ने गरेको देखियो । साथै उक्त कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुलाई निशुल्क तथा शिक्षकहरुलाई विद्यालयको कोषबाट केही प्रोत्साहन भत्ता दिने गरेको देखियो ।
विहानको सुरुवात:
विहान ६ बजे देखि ९ बजे सम्म वबहानी सत्रको कक्षा समाप्त भए पश्चात ९ बजे देखि ९:४० सम्म विभिन्न राष्ट्रिय गानहरु बजाउदा हाम्रो हातको छालामा पनि तरंग आइरहेको थियो । राष्ट्रिय गानसँगै विद्यार्थीहरु विद्यालयमा आउने क्रममा विद्यालयको २ वटा गेटमा दुवै पट्टी एक एक जनाले विद्यार्थीसाथीहरुलाई स्वागत गर्दै गरेको दृष्यले विद्यालयले साँच्चै पनि नैतिक शिक्षालाई हुबहु व्यवहारमा प्रयोग गरेको भान हुन्छ। प्रार्थना समय ९:४० बजे सुरु हुनु भएता पनि अधिकांस विद्यार्थीहरु ९ बजे देखि नै आइरहेका र बजिरहेको राष्ट्रिय गीतमा रमाउदै सानो ठाउँ भएता पनि चिप्लेटी खेल्ने र घुम्ने पिङ आदिमा रमाइरहेका थिए ।
प्रार्थना समय अत्यन्तै व्यवस्थित नैतिक शिक्षाको शतप्रतिशत उपयोग विद्यार्थीहरुलाई आध्यात्मिक बनाउन बुद्ध धर्मसँग सम्बन्धित मन्त्र तथा Thought of the day, Book of the Day,Quize लगायत सबै क्रियाकलापमा विद्यार्थीहरुनै संलग्न रहेको देखियो । करिव १५ देखि २० मिनेट सम्मको प्रार्थना तथा पिटी गेम पछि व्यवस्थित रुपमा कक्षा कोठामा गएको दृश्य निकै शानदार र अभूतपूर्व देखियो ।
कक्षा कोठामा गएर सुरुको ५ मिनेटमा हरेक विद्यार्थीहरु बाहिर बजाइएको बुद्ध गितको धुन सँगै शिक्षकको उपस्थितिमा Mediation गर्ने गरेको पाइयो । हरेक कक्षाकोठामा बाक्लो कार्पेट लगाइएको र विद्यार्थीहरुले आ-आफ्ना जुत्ताहरु बाहिर फुकाली कक्षामा जानु पर्ने रहेछ ।
विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक,खेलकुद,सरसफाइ तथा अन्य क्रियाकलापमा सहभागी गराउन प्रत्येक वर्ष नयाँ विद्यार्थी भर्ना भएसँगै वैशाख महिनाको अन्तिममा हाउस वाइज काप्टेन छनौट गर्न चुनाब गरिने रहेछ । चुनावबाट छनौट भएका विद्यार्थीहरुले विद्यालयको सरसफाइ शिक्षकहरुसँग सहकार्य,प्रार्थना समयको व्यवस्थापन लगायत विविध पक्षहरुमा सहभागिता जनाउने देखियो ।
विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागी Voice of Dahu, Dance Dahu Dance लगायत अन्य अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गर्दै आइरहेको देखियो । विद्यालयको चारै तिर फुलबारी,जताततै झुण्ड्याइएको गमलाका फूल,सफा र सुन्दर आँगन तथा कक्षा कोठाको दृश्यले सबैको मन जितेको छ। विद्यालयको कक्षा कोठामा हाउसवाइज सरसफाइ गर्नु पर्ने तथा कक्षा कोठा बाहेकका आँगन तथा उद्यानहरुमा हरेक कक्षाले सरसफाइ गर्नु पर्ने कार्य तालिका रहेको कुरा प्रधानाध्यापकले बताउनु भयो । यसरी विद्यार्थीहरुमा नैतिक शिक्षा,समुदाय र राष्ट्रप्रतिको जिम्मेवारी र असल नागरिक बन्न सहयोग हुने कुरामा प्रधानाध्यापकले विस्वास राख्नु भएको छ।
निष्कर्शः
एकाध बाहेक सामुदायिक विद्यालयहरुको खस्कदो गुणस्तरीयता तथा नीजि विद्यालय प्रतिको बढ्दो माग र आवश्यकताको वावजुद पनि अथाहा इच्छाशक्ति,चाहाना,लगाव,त्याग र निरन्तरको प्रयासबाट शिक्षा क्षेत्रमा चम्किलो ताराको रुपमा रहनु भएका डहु माध्यामिक विद्यालय रामेछापका प्रधानाध्यापक दल बहादुर बल र उहाँको सम्पूर्ण शिक्षकसाथीहरुको निरन्तरको प्रयासबाट सामुदायिक विद्यालयले उत्कृष्ट र अदभुत नतिजा दिन सक्छ भनि विश्वास जगाएको छ।
अभिभावकहरुले गृहकार्य सिकाउदैनन्,ट्युसन पढाउदैन, ट्युसनको लागी पैसा दिदैनन्,विद्यार्थीहरु विद्यालयमा आउदैनन् भन्ने आम प्रश्नहरु तेर्स्याएर आफू आफ्नो जिम्मेवारीबाट पछि हट्ने सामुदायिक विद्यालयका शिक्षकहरुमाझ उदाहरणीय बन्दै आइरहेको छ डहु माध्यामिक विद्यालय । यहाँ नगरे कहाँ गर्ने ? अहिले नगरे कहिले गर्ने? भन्ने मूल भावलाई आत्मसाथ गरेमा डहु माध्यामिक विद्यालयले प्राप्त गरेको जस्तै नतिजा हरेक सामुदायिक विद्यालयहरुले प्राप्त गर्न सक्ने कुरामा दुइ मत नहोला ।