तराई क्षेत्रमा विशेष रुपमा धूमधामका साथ मनाइने छठ पर्व जारी रहेको छ ।
यो पर्व शुक्रवारवाट नै नहाय खाय (नुहाएर खाने) दिन मनाएर शुभारम्भ भएको हो ।
शनिवार खरना (खिर खाने) विधि भएको हो । आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।
परिवारको कल्याण,सन्तान प्राप्ति,रोग निदानका लागि निकै निष्ठापुर्वक छठपर्व तराई मधेसमा धुमधामसँग मनाइने गरिन्छ ।
तराई मधेसका जिल्लाहरुमा मात्र मनाईने गरेको छठ पर्व अहिले केही बर्ष यता देशभर पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।
छठ पर्व मनाउनका लागि अहिले तराई मधेसमा यतिबेला गाउँसहरमा सजिसजाउ भएका छन । तराई मधेसका सवै गाँउघरमा रहेका नदी, तलाउ, पोखरी तथा जलासयहरु सरसफाइ गर्ने, सिङ्गार गरेर पंण्डाल र झिलिमिली बत्तिहरु समेत राखेर छठी घाटहरु तयार बनाईको छ ।
बाराको सदरमुकाम कलैया सहित जिल्लाका १६ वटै पालिकाहरुका बिभिन्न वडामा छठी घाट सजाउने कार्य सकिएको छ ।
खासगरी कलैयाको रामजानकी मन्दिर परिसरको पोखरी, सिद्धेश्वर मन्दिर परिसर पोखरी,टेङरहर नदी,पसाहा नदी, बरेवा स्थित पोखरी आदी स्थानहरुमा रहेका छठी घाटहरु अहिले दुलही झै सिंघारीएका छन ।
जिल्लाका सिम्रौनगढस्थित झरोखर पोखरी सहित अन्य छठ घाटमा ब्रतालुहरुका लागि बस्ने र पूजा गर्ने प्रबन्ध मिलाईएको घाट व्यवस्थापन समितिहरुले जनाएका छन ।
छठी घाट सजावटको लागि लाखौ रकम समेत खर्च गरिएका छन । बाराको शहरी क्षेत्रसँगै ग्रामीण भेगका छठघाटको पनि उतिक्कै तामझामका साथ सजावट गरिएका छन ।
छठी माताको लागि केराका घोगा,नरिवल,भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा यसरी तयार पारिएको फलफूललाई छठको तेस्रो दिन साँझ अस्ताउदो र अन्तिम दिन बिहानै उदाउदो सुर्यलाई देखाउदै अर्घ दिएपछि पर्वलाई विदाई गरिन्छ ।
निकै निष्ठा र श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीहरु किन्ने भिड लागेको छ ।
जिल्लाका अधिकांश बजारहमा डोम समुदायले बनाएका ढाकी, नाङ्लो,कोनियाँ,डगरी तथा उखु,केरा,हल्दी,अदुवा,निम्बु, मूला,नरिवल,पान,सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी,घैला किन्नेहरुको भिड लागेको छ ।