वीरगञ्ज महानगरपालिकाले मंगलबार सडक र फुटपाथ विगारेको भन्दै नेपाल टेलिकम परिसरमा फोहोर थुपारि दिएको छ ।
वीरगञ्ज स्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा महानगरका कर्मचारी र नगरप्रहरीको टोलीले ७ ट्याक्टर फोहोर थुपारिदिएको हो ।
नेपाल टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर विगारेकोले खनिएको सडकलाई मर्मत गरि दिनको लागि पटक पटक भन्दा समेत टेलिकमले कुनै वास्ता नगरे पछि बाध्य भएर श्रीपुर स्थित क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोध स्वरुप फोहोर राख्न लगाइएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको र कालोपत्रे सडक र फुटपाथ खनिएको कारणले सर्वधारण सास्ती भोग्दै आएको वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिँहले बताएका छन्।
जथाभावी सडक र फुटपाथ खनेर टेलिकमले छोडदा महानगरले शुरु गरेको सरसफाई तथा स्वच्छता अभियान नै प्रभावीत हुन पुगेको प्रमुख सिँहको आरोप छ ।
टेलिकमले अप्टिकल फाइबार बिछ्याउने क्रममा बाइपास सडकखण्डमा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको सिँहले बताए ।
त्यसै गरि रजतजन्ती चोक देखि तेजबहादुर अमात्यको शालिक रहेको गण्डकसम्म सडक फुटपाथ टेलिकमले खनेर नबनाएको सिँहले बताए ।
सडक बनाउनको लागि बारम्बर आग्रह गर्दा अटेर गरेको, जिल्ला प्रशासनले पत्र काट्दा पनि सुनुवाई नभएकोले टेलिकमलाई डम्पिङ साइट बनाउनु परेको उनले बताए ।
फागुन ३ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितीमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएको सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
सहमति पालना गराई दिनको लागि जिल्ला प्रशासन कार्यालय पर्सालाई समेत भन्दा कुनै सुनुवाई नगरिए पछि वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको रोहबरमा गरिएको सहमति समेत पाल्न नगरेर टेलिकमले वीरगन्ज महानगरपालिकालाई नै नटेर्ने व्यवहार गरेको देखेर नै टेलिकम परिसरमा फोहोर थुपार्नु परेको बताइएको छ ।
वाइपास सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन आयोजनाले समेत योजना कार्यान्वयनका क्रममा सडक खनेका थिए । खनिएको सडकलाई खानेपानी र पेट्रोलियम पाइपलाई आयोजनाले मर्मत गरे पनि टेलिकमले खनिएको सडकलाई त्यस्तै छाडिएको आरोप वीरगन्ज महानगपालिकाको छ ।
टेलिकम परिसरमा फोहोर फाल्नेलाई कारवाहीको माँग
नेपाल टेलिकमको वीरगञ्जस्थित प्रादेशिक निर्देशनालय मधेश प्रदेशले कार्यालय परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेको छ ।
निमित्त निर्देशक अनन्त प्रकाश मल्लिकले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै कार्यालय परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
प्रादेशिक निर्देशनालयको कम्पाउण्ड भित्र चैत २१ गते गते बिहान ९ ः१५ बजे अचानक १५–२० जना अनिाधिकृत व्यक्तिहरुको समूहले प्रादेशिक निर्देशनालयको मूल ढोकाका गार्डहरुलाई धम्क्याइ कार्यालयको कम्पाउण्डभित्र ५–७ हेक्टर फोहोर फालेको र उक्त समूहले आफूहरुलाई वीरगञ्ज महानगरको कर्मचारी भनी गएको पत्रमा उल्लेख छ ।
कार्यालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको तथा कार्यालयको कर्मचारीहरुमा डर त्रासको वातावरण सृजना भएको टेलिकमले जनाएको छ ।
पत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरिदिन र अमर्यादित र अमानवीय कार्य गर्ने पक्षहरुलाई कानून बमोजिम कारबाही गरी कार्यालयको काम गर्ने वातावरण सहज बनाइदिन भनिएको छ ।