रञ्जन यादव/
बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागी सोमवार विभिन्न राजनीतिक दल र स्वतन्त्र समेतले मनोनयन दर्ता गराएका छन् ।
आउदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्धारित समयसीमा भित्र ३६ जनाले उम्मेदवारी दिएका हुन् । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित भएका थिए । सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि सोमवार भएको मनोनय दर्ताको समयमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन । यादवले सत्ता साझेदार दल नेपाली काँग्रेस, माओवादी केन्द्र, लोकतान्त्रीक समाजवादी पार्टीको सर्मथनमा उम्मेदवार बनेका हुन ।
यस्तै नेकपा एमालेबाट पुर्वमन्त्री समेत रहेका पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन । यस्तै जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पाटीबाट अरुण ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीबाट डा. कमरुल्लाह अन्सारी सहित ३६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
यी सबै गत मंसिरमा सम्पन्न निर्वाचनमा विभिन्न क्षेत्रमा उम्मेदवार रही पराजित भइसकेका हुन् ।सत्ता गठबन्धनमा रहेका ठुला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको साझा उम्मेदवारका रुपमा जसपा नेपालका अध्यक्ष यादवले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्ता गराउँदै जसपा अध्यक्ष यादवले बारा २ का नागरिकले आफूलाई बोलाएकाले आफ्नो जित निश्चित रहेको दाबी गर्नुभयो ।
त्यस्तै मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफूले उम्मेदवारी दिएको बताउँनुभयो ।
बारा क्षेत्र नं.२ मा ०४८ सालमा एमालेले जितेको क्षेत्र हो, ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र भएकाले हुन गईरहेको निर्वाचनमा पनि एमालेले जित्ने दाबी गर्नुभयो ।