एसियाकै दोस्रो ठूलो गढीमाई मेला रौतहटमा लाग्दै,भारतीय कलाकार खेसारीलाल आउँदै

साझेदारी दैनिक
साझेदारी दैनिक 20 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

रौतहट : ओम प्रकाश यादव/ एसियाकै दोस्रो ठूलो गढीमाई मेला पाँच वर्षपछि रौतहट जिल्लाको गढीमाई नगरपालिका –४ सुन्दरपुरस्थित रहेको गढीमाई मन्दिरमा लाग्ने गर्छ। यस वर्ष पञ्चवर्षीय गढीमाई मेला आउँदो मङ्सिर १७ गतेदेखि लाग्ने भएको छ।

गढीमाई मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले बुधबार नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएका हुन्।

हरेक पाँच वर्षमा एक पटक लाग्दै आएको रौतहटको सुन्दरपुर गढीमाई मन्दिरको मेला यस वर्ष मङसिर १७ गतेदेखि मङसिर २६ गतेसम्म लाग्ने आयोजक एवं मेला समितिका अध्यक्ष यादवले जानकारी दिएका हुन्।

पाँच वर्षपछि लाग्न थालेको गढीमाई मेलाको तयारी तीव्र रुपमा अगाडि बढाइएको उनले जानकारी दिए। मेलाका लागि ६० वटा घुम्ती र करिव पाँच सय अस्थायी शौचालय निर्माण गरिने समितिले जनाएको छ।

रौतहटको सुन्दरपुर स्थित रहेको गढीमाईको यो मेला एसियाकै सबभन्दा दोस्रो ठूलो मेला रहेको हो।

मेलामा नेपाल,भारत सहित अन्य देशका गरी लाखौं भक्तजन दर्शन गर्न आउने भएकोले त्यसलाई दृष्टिगत गरी मेलामा बाहिरबाट आउने आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष नगर प्रमुख यादवले जनाए।

मेलालाई सभ्य र भव्य बनाउन मङसिर २० गते भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई बोलाइएको छ।

सुन्दरपुर गढीमाई मेलामा आउने दर्शनार्थी एवं भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मङसिर २० गते भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको हो।

कलाकार खेसारीलाल सँगै भारतीय भोजपुरी मोडेल कलाकार माहि र मनिषा पनि सांगीतिक प्रस्तुति दिन आउन लागेको जनाइएको छ।

भारतीय कलाकारहरुका साथै नेपाली कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने छ।

सबै कलाकारहरुले मङसिर २० गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म आ–आफ्ना सांगीतिक प्रस्तुति दिने छन् ।

मेलामा ठूलो संख्यामा दर्शनार्थी आउने र त्यसमा पनि भारत तथा नेपालका ख्याति प्राप्त सुप्रसिद्ध कलाकारहरु आउने भएका कारण मेलाको सुरक्षा व्यवस्था निकै कडा बनाइने भएको छ।

प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपालसहित छिमेकी भारत र अन्य देशबाट गरी लाखौँ श्रद्धालु गढीमाई आउनेछन् । सुन्दरपुरको गढीमाई मन्दिर विशेष गरी बलिकालागि प्रख्यात रहेको छ।

यहाँ भाकल पूरा हुने श्रद्धालुले बलि दिने गर्छन्। हजारौँको संख्यामा पशुबलि दिइने यस मन्दिरमा तान्त्रिकले रगत चढाएपछि बलि प्रदान सुरु हुन्छ। मन्दिरमा राँगा, बोकाजस्ता जनावरको बलि दिइने गरिन्छ।

गढीमाई नेपाल मात्रै नभई भारतसहित हिन्दुधर्म मान्नेहरूका लागि महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको छ। यहाँ आएर गरिएको मनोकामना पूरा हुने जनविश्वास छ। गढीमाईमा विशेषगरी राँगाको बलि दिने गरिन्छ।
साथै मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच पशु एवं पक्षीलाई पञ्चबलिका रूपमा देवीलाई अर्पित गर्ने परम्परा छ।

बाराको बरियारपुरमा विश्वकै सबभन्दा ठूलो गढीमाई मेला लाग्ने गर्दछन् भने रौतहटको सुन्दरपुरमा बाराको बरियारपुरमा लाग्ने मेलापछिको दोस्रो ठूलो गढीमाई मेला हो।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न