रौतहट : ओम प्रकाश यादव/ छठ पर्वको अवसरमा रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनीप्रसाद जयसवालले छठ व्रतालु महिलाहरुलाई लुगा कपडा सहित छठ पूजाका सामग्री वितरण गरेका छन्।
आर्थिक अभावका कारण छठ पर्व मनाउन नसक्ने अति विपन्न परिवारका व्रतालु महिलालाई गरुडा नगर प्रमुख जयसवालले ति सामाग्री वितरण गरेका हुन्।
उनले साडी एवम् पूजाका सामग्री वितरण गरिरहेका छन्। आर्थिक रूपमा कमजोर महिलाले पनि छठ पर्व मनाउन पाउन्,पैसाको अभावमा छठ मनाउन समस्या नहोस् भन्ने उद्देश्यले मेयर जयसवालले यसरी सामाग्री वितरण गरेका हुन्।
उनले नगरको वडाहरुमा छठको व्रत गर्ने महिलालाई व्रत सामग्री र साडी सेट वितरण गरिरहेका छन्।
मेयर जयसवालले गरुडा नगरपालिका–३ मलाहि टोलमा आर्थिक स्थिति कमजोर भएका अति गरिव,दलित एवं विपन्न परिवारका छठ व्रत गर्ने दुई सय व्रतालु महिलाहरुलाई मंगलबार यस्ता सामग्री वितरण गरेका हुन्।
पालिकाको ९ वटै वडाका व्रत बस्न तयार विपन्न महिलालाई बाँसबाट निर्मित पूजा सामग्री डाला,सुपली एवम् चोखोनितो लगाउन नयाँ साडी,चोलो र पेटिकोट वितरण गरिरहेका हुन्।
अहिलेसम्म ७ वटा वडामा गरी १२ सय भन्दा बढी व्रतालु महिलाहरुलाई व्रत सामग्री वितरण गरिसकेको मेयर जयसवालले जानकारी दिए। दुईवटा वडामा मात्र व्रत सामग्री वितरण गर्न बाकी रहेकोमा बुधवार ती दुईवटा वडामा पनि उक्त सामग्री वितरण कार्य सकिने उनले बताए ।
निकै कठोर र आस्थाका साथ उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गरी मनाइने छठ पर्वको विशेष महत्व रहेको छ। पालिकाको सानो सहयोगबाट विपन्न र असहाय व्रतालुलाई ठुलो राहत पुग्ने र खुसीकासाथ पर्व मनाउने नगरप्रमुख जयसवालको विश्वास छ।
पालिकाबाट व्रतको सामग्री पाउँदा आर्थिक स्थिति कमजोर भएका विपन्न परिवारका व्रतालुहरु निकै खुसी देखिएका छन्।
मेयर जयसवालले मेयरमा निर्वाचित हुनुअघि देखिनै व्रतालुलाई कपडासहित अन्य सामग्री वितरण गर्दै आएकाले अहिले पनि सोही कार्यलाई निरन्तरता दिएका हुन्।