इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

रासस
रासस 73 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

महोत्तरी,३१ भदौः इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् ।

इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ ।

इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

पर्वका अवसरमा यहाँ मुस्लिम बस्ती निकै चहलपहल छ । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ,रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् ।

जलेश्वर,सम्सी,लोहारपट्टी,भङ्गाहा,मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् ।

आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान,आपसी एकता,परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ ।

पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने जलेश्वर–६ का स्थानीवासी महमुद आलम बताउनुहुन्छ । पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् ।

ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ । पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ ।

यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको सम्सी–६ का समाजसेवी इम्तियाज अहमद बताउनुहुन्छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न