लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

रासस
रासस 92 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

दमौली (तनहुँ),५ भदौ : बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ ।

उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् ।

एक हजार चार सय ३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर,७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा रु एक करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला रु तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो ।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत रकम सङ्कलन भएको थियो ।

केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली,नाङ्गो तार हटाइ केबल विस्तार,कन्डक्टर साइज स्तरोन्नति,ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताउनुभयो ।

रासस

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न