अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून

रासस
रासस 107 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बरहथवा (सर्लाही), २ भदौ । सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीसमेत अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतम आवश्यकताभन्दा पनि धेरै कम शिक्षक दरबन्दी रहेको छ ।

दरबन्दीअनुसार शिक्षक दरबन्दी पर्याप्त नभएका कारण ५ कक्षासम्मका विद्यार्थीलाई दुई शिक्षकशिक्षिकाले पढाउनु परेको गोडैता नगरपालिका–२, जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार शिक्षकको दरबन्दी न्यूनतम आवश्यकताको पनि आधाभन्दा कम रहेको पाहिएको हो । यस जिल्लामा चार सय ४७ वटा सामुदायिक,एक सय ९८ वटा संस्थागत र ७२ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिनुभयो ।

जिल्लामा सङ्कलित विद्यालय र त्यसमा अध्यनरत छात्रछात्राको अनुपातमा शिक्षक दरबन्दी निकै कम रहेको तथ्याङ्कले देखाएको छ । विद्यार्थी र विद्यालयको अनुपातमा कम्तीमा जिल्लामा दुवै प्रक्रियाबाट न्यूनतम पाँच हजार तीन सय २७ वटा शिक्षक दरबन्दी आवश्यक रहेको कार्यालय प्रमुख खरेलले बताउनुभयो ।

शिक्षक दरबन्दी अभावका कारण जिल्लामा अधिकांश विद्यालय सङ्कटमा परेका उहाँको भनाइ छ । आन्तरिक स्रोत जुटाउन सक्ने केही पालिकाले शिक्षक राखेका छन् ।

जिल्लामा प्राविधिक धारतर्फ भने शिक्षक दरबन्दी आवश्यकताअनुसार नै रहेको उहाँले बताउनुभयो । पशु विज्ञान,बाली विज्ञान,कम्प्युटर,सिभिल इन्जिनियरिङ गरेर जिल्लामा नौवटा प्राविधिक धारतर्फका विद्यालयहरू छन् । त्यसका लागि ७३ वटा शिक्षक दरबन्दी रहेको छ ।

शिक्षक पर्याप्त नभएका कारण पठनपाठन प्रभावित हुने गरेको हरिपुर्वा नगरपालिकास्थित जनता माध्यामिक विद्यालयका छात्र रामविश्वास रायले गुनासो गर्नुभयो । “विद्यालयमा सधँै शिक्षक अभाव हुन्छन् । हामीले किताब पढ्नै नपाई परीक्षा दिनुपरेको छ”, उहाँले भन्नुभयो ।

यस्तै सुस्त श्रवण पाँच,सुस्त मनस्थिति तीन र दृष्टिविहीनका लागि एक विद्यालय सञ्चालन भइरहेका हुन् । दशवटा माविमा नमूना कार्यक्रम सञ्चालन भइरहेको शिक्षा समन्वय कार्यालय मलङ्गवाका प्राविधिक सहायक सुनिलप्रसाद कुशवाहले जानकारी दिनुभयो ।

२०५८ सालमा कायम भएको स्वीकृत शिक्षक दरबन्दी र २०६७ सालमा कायम राहत अनुदान शिक्षक दरबन्दीकै भरमा विद्यालयमा पठनपाठन गराउनु परिरहेको बागमती नगरपालिका–२, घरहरामा रहेको जनबाल कल्याण माविका प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाको भनाइ छ । त्यसयता विद्यालयको स्तर उन्नति तथा विद्यार्थीको अनुपातमा भएको वृद्धिका कारण थोरै दरबन्दीमा पठनपाठन सकसपूर्ण भएको उहाँले बताउनुभयो ।

तीनवटै सरकार शिक्षा क्षेत्रमा भएको समस्या समाधानम उदासीन देखिएका शिक्षासेवी तथा नागरिक समाजका अगुवा उग्रकान्त मिश्रको दाबी छ । बालबालिकाले न्यूनतम मात्रामा शिक्षक समेत नपाउनु विडम्बना भएको उहाँको भनाइ छ ।

जिल्लामा सबै तहका गरी एक लाख ३४ हजार सात सय ९९ छात्रा र एक लाख ४२ हजार पाँच सय ६१ जना छात्र गरी कूल दुई लाख ७७ हजार तीन सय ६० जना छात्रछात्रा अध्यनरत छन् । तराईका जिल्लामा प्राविमा प्रतिशिक्षक ५० जना र मावि तहमा प्रतिशिक्षक अधिकतम ४० जना विद्यार्थी रहने सङ्घीय शिक्षा ऐनमा उल्लेख छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न