सर्लाहीका एक वडा अध्यक्षको कर्तुत,अरुको वडामा रहेको जग्गाको गरे प्रमाणित

साझेदारी दैनिक
साझेदारी दैनिक 191 पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

रौतहट,२० साउन । ओम प्रकाश यादव/ कुनै पनि जनप्रतिनिधिले आफना कार्यक्षेत्र अर्थात आफना नगर क्षेत्र वा वडामा रहेको जग्गा जमीनको मात्र सिफारीस गर्नुपर्ने प्रावधान छ ।

आफना वडा भन्दा अरुको वडामा दर्ता कायम रहेको जग्गाको सम्बन्धित वडा अध्यक्षले कुनै प्रकारको सिफारीस गर्न पाइदैनन तर सर्लाहीको एकजना वडा अध्यक्षले सबै निती,नियम र कानुनलाई लत्याउँदै गैर कानुनी ढंगले अरुको वडामा रहेको जग्गाको घरबाटो प्रमाणितको सिफारीस गरेको रहस्य खुलेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका–२ का वडा अध्यक्ष निल विक्रम थापाले आफनो वडामा नै नभई अरुको वडामा दर्ता कायम रहेको जग्गाको घरबाटो प्रमाणितको सिफारीस गरेको पाइएको छ ।

हरिपुर नगरपालिका वडा नं.८ मा दर्ता कायम रहेको किता नं. ७७३ को ११ कठ्ठा १४ धुर जग्गाको वडा नं.२ का वडा अध्यक्ष थापाले गैर कानुनी ढंगले सिफारीस गरेको रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका पीडित संतोष कुमार चौधरीले बताएका छन् ।

वडा अध्यक्ष थापाले यहि २०८१ साल साउन ७ गतेको मितिमा चलानी नम्बर १५ उल्लेख भएको आफना लेटरपैडमा मालपोत कार्यालय हरिवनलाई सम्बोधन गरी सप्तरी घर भएका जग्गाधनी संजय कुमार साहले जग्गा वर्गीकरणको लागि दिएको निवेदन अनुसार उक्त जग्गाको घरबाटो तथा जग्गा वर्गीकरणको प्रमाणित गरेको उल्लेख रहेको छ ।

हालका जग्गाधनी सप्तरी घर भइ हाल नापी शाखा कार्यालय डिल्लीबजार काठमाडौंमा अधिकृतको रुपमा कार्यरत संजय कुमार साहसंग २०७९ सालमा रौतहट पोठियाहीका संतोष कुमार चौधरीले एक करोड रुपैयाँ ऋण अर्थात कर्जा लिएका थिए ।

ब्याजमा कर्जा लिए वापत चौधरीले साहु साहको नाममा आफना ५ करोड रुपैयाँ बराबरको सर्लाहीको हरिपुर नगरपालिका–८ मा रहेको ११ कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय हरिवनमा रजिष्ट्रेसन पास गरिदिएका थिए ।

साह २०७९ सालमा नापी कार्यालय चन्द्रनिगाहपुर रौतहटको नापी अधिकृतको रुपमा कार्यरत रहेका थिए । त्यतीबेला साह र चौधरी दुबैजना संगै मिलेर चपुरमा जग्गा खरिद विक्रीको काम गर्ने गरेका थिए । सोही क्रममा जग्गा किनबेचमा घाटा लागेपछि चौधरीले साहसंग ब्याजमा उक्त ऋण लिएका थिए ।

ऋण लिएको एक वर्षपछि साहु संजय साहले आफना पैसा चुक्ता गर्न ऋणी चौधरीलाई दबाब दिन थाले । त्यसपछि आफुलाई केहि समय दिन चौधरीले साहलाई आग्रह गरे । तर छिटो पैसा तिर्नु नत्र म जग्गा बेचिदिन्छु भनी साहले चौधरीलाई धम्की दिनथालेपछि दुबैजना बीच विस्तारै खटपट हुन थाल्यो ।

सोही क्रममा साहु साहले हरिपुर नगरपालिका वडा नम्बर ८ मा जग्गा दर्ता रहेको थाहा हुँदाहुँदै आफुलाई कुनै जानकारी नै नदिई वडा नम्बर २ को वडा अध्यक्ष निल विक्रम थापासंग घरबाटोको सिफारीस गराई आफना ११ कठ्ठा १४ धुर जग्गा मध्ये २४ घुर जग्गा अरुसंग बेचिदिएको पीडित संतोष कुमार चौधरीले आरोप लगाएका छन् ।

वडा नम्बर ८ का वडा अध्यक्षले सिफारीस गर्न नमानेपछि अधिकार क्षेत्रमा नै नपर्ने वडा नम्बर २ को वडा अध्यक्ष थापालाई मोटो रकम दिएर साहले घरबाटोको सिफारीस गराई आफना जग्गा विक्रि गरिदिएपछि आफु ठुलो समस्यामा परेको पीडित चौधरीले बताए ।

छिटो पैसा नदिए बाँकी रहेको पनि पुरै जग्गा बेचिदिने साहले धम्की दिने गरेको समेत उनले गुनासो गरे । वडा नम्बर ८ मा रहेको जग्गाको तपाई वडा नम्बर २ को वडा अध्यक्षले किन, कसरी र कुन आधारमा सिफारीस गर्नुभो भनेर वडा नम्बर २ का अध्यक्ष समक्ष लिखित निवेदन दर्ता गराएपनि उनले कुनै जवाफ नदिएको पीडित चौधरीले दुखेसो गरे ।

आर्थिक चलखेलको आधारमा वडा अध्यक्ष थापाले आफना जग्गाको गैर कानुनी ढंगले सिफारीस गरेका कारण जग्गा विक्रि भएको भन्दै गैर कानुनी ढंगले सिफारीस गर्ने वडा अध्यक्ष थापालाई छानविन गरी कडा कार्यवाही हुनुपर्ने माग चौधरीले गरेका छन् ।

त्यस्तै आफुसंग सोध्दैनसोधी आफना मनोमानी ढंगले आफना जग्गा विक्रि गर्ने साहु संजय कुमार साहलाई पनि कार्यवाही हुनुपर्ने र आफुले विक्रि भएको जग्गा फिर्ता पाउनुपर्ने माग उनले गरेका छन् ।
त्यस्तै गैर कानुनी ढंगले गरिएको सिफारीसको आधारमा अरुको नाममा जग्गा पास गर्ने मालपोत कार्यालय हरिवनको प्रमुखमाथी पनि छानविन गरी कार्यवाही हुनुपर्ने माग उनले गरे ।

आफुले लिएको पैसाको सावा र ब्याज दुबै साहलाई दिने र साहको नाममा ऋण वापत पास गरेको आफना ११ कठ्ठा १४ धुर जग्गा फिर्ता पाउनुपर्ने माग उनले गरेका छन् ।

यस बारे वडा अध्यक्ष थापा संग कुरा गर्दा आफुले त्यो जग्गाको सिफारिस गरेको स्वीकार गरेका छन तर अर्को वडामा भएको जग्गाको सिफारिस तपाईंले किन गरेको भनेर प्रश्न सोध्दा उनले ठोस जवाफ दिन चाहेनन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न