अत्यधिक गर्मी बढेको भन्दै बाराका दुई पालिकाले तीन दिनका लागि विद्यालय बन्द गरेको छ ।
केही दिनदेखी अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका बेहोस भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी तीन दिन गर्मी बिदा गरिएको पालिकाहरुले जनाएको छन ।
गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने,ज्वरो आउने,पेट दुख्ने लगायतको लक्षणहरुको क्रम बढेपछि केही दिनका लागि नगरपालिका र गाउँपालिकाले विद्यालय बन्द गर्न लागेको हो।
पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि ३० डिग्री भन्दा बढीबाट सुरु हुने गर्मी मध्याह्नसम्म ४२ डिग्री सेल्सियस तापक्रम भन्दा माथि हुँदा दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ ।
सुवर्ण गाउँपालिकाले विगत केहि दिनदेखि तराईका जिल्लाहरूमा अत्यधिक गर्मी भई बालबालिकाहरूको स्वास्थ्यमा पर्ने असरलाई मध्येनजर गर्दै जेठ ३० गतेदेखि ३२ गतेसम्म सामुदायिक तथा संस्थागत बिद्यालयको पठनपाठन बन्द गर्न वर्षे विदाबाट कटटा हुनेगरी तीन दिन विदा दिईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले जानकारी दिए ।
त्यस्तै निजगढ नगरपालिकाले पनि विगत केही दिन देखि बढ्दै गएको अत्याधिक गर्मी रहेकोले तीन दिनका लागि विद्यालयहरु बन्द गर्न निर्देशन गरेको छ ।
गर्मीले नियमित पठनपाठन कार्यमा असहज हुन गई बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाको क्षेत्र भित्र संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गराएको हो ।
नगरपालिकाले जेठ ३० देखि ३२ गते सम्म वर्षे विदाबाट मिलान हुने गरी विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताएका छन्।
हाल बारासहित मधेस प्रदेशका जिल्लाहरुमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।