फत्तेपुरमा उपमहानगरले डोजर चलाउने

रञ्जन यादव
रञ्जन यादव 222 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले फत्तेपुरमा बैशाख १५ गते डोजर चलाउने भएको छ ।

सार्वजनिक जग्गा कब्जा गरेर बनाईएको अबैध संरचनामाथि उपमहानगरले डोजर चलाउने भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले तीन पटक सूचना निकालेर फत्तेपुर बजारको सार्वजनिक जग्गामा बनाईएको घर,टहरा तथा पसल खालि गर्न अनुरोध गरेको थियो ।

केही स्थानीयहरुको अटेरीको कारण अहिले सम्म बजारमा बनाईएको संरचना खालि गरिएको छैन । फत्तेपुर बजारमा मंगलबार बसेको बैठकले आ–आफ्नो घर,टहरा,पसल नहटाएमा उपमहानगरले डोजर चलाएर ति संरचनाहरु भत्काउने निर्णय गरेको वडाध्यक्ष श्यामबाबु खाँले बताए ।

बैशाख १४ सम्म संरचना खालि गर्न भनिएको उनले भने । वडा बाट समेत सूचना जारी गरेर बजारको जग्गा खालि गर्न भनेको, तर केहि व्यक्तिहरुले खालि गर्न नमाने पछि बजार व्यवस्थापनको काममा अवरुद्ध आएको उनले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारिको रोहवरमा सो छलफल भएको हो । छलफलमा स्थानीयहरुले टहरा हटाउने सहमति गरेको छ ।कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पहिलो चरणमा चैत १८ गते जिर्ण अवस्थामा रहेको घर र टहरा माथि डोजर चलाएको थियो ।

उपमहानगरले डोजर लगाएर घर र टहरा भत्काई रहेको बेला केही स्थानीयले बिरोध गरेका थिए । साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ ।सो १८ कट्टा सार्वजनिक जग्गा मध्ये ६ कट्टा बजारमा प्रयोग भएको छ ।
बाँकी रहेको १२ कट्टा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेका छन् ।सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो ।

सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भयो । उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ ।

छलफलमा स्थानीयहरुले एकै पटक सबै घर,टहरा र पसल हटाउन सहमति गरेका छन् ।

यदि बैशाख १४ गते सम्म स्थानीयहरुले आ–आफ्नो घर,टहरा र पसल खालि नगरेमा उपमहानगरले डोजर लगाएर भत्काउने सहमति भएको उपमहानगर उपप्रमुख अधिकारीले बताए । सार्वजनिक जग्गामा घरायसी र व्यवसायिक प्रयोजनका सटरहरु गरी करिब ६० घरधुरी रहेको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न