आईतवारदेखि जीतपुरसिमरा उपमहानगरपालिकासँगै बारा जिल्लामा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकामा फागुन १३ गते देखि १७ गते सम्म चल्ने यो अभियानमा करिब ४० हजार बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउँने योजना उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिएका छन ।
उपमहानगरपालिकाको २४ वटा वडाको २५ ठाउँमा खोप लगाउँने कार्य भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
अभियान भरी उपमहानगरमा ७५ जना स्वास्थ्यकर्मी र १ सय ३७ जना स्वयंसेविका परिचालन गरिरहेको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय बाराले फागुन १३ देखि चैत ८ गतेसम्म यो अभियान सञ्चालन गर्न लागेको हो ।
जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । बारामा ९ महिना देखि १५ बर्ष उमेर समुहका २ लाख ३० हजार ३ सय १४ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादबले बताएका छन ।
जिल्ला भरी ८ सय ७६ खोप केन्द्र स्थापना गरि २ हजार १४ जना स्वास्थ्यकर्मी र २ हजार १४ जना स्वयंसेवक खटाइने यादवले बताए । जनस्वास्थ्य कार्यालय बाराका प्रमुख यादबले दादुरा रुबेला विरुद्धको खोप अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको बताए ।
उनले अभियानलाई तीन चरणमा बाँडिएको बताउँदै पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका ,प्रसौनी गाउँपालिका ,परवानीपुर गाउँपालिका ,बिश्रामपुर गाउँपालिका ,फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकामा खोप लगाइने जानकारी दिनुभयो ।
यसैगरी दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि २४ गतेसम्म निजगढ नगरपालिका ,कोल्हबी नगरपालिका ,महागढीमाई नगरपालिका ,करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ ।
यस्तै तेस्रो चरणको कार्यक्रम अन्तर्गत चैत्र ४ गते देखि ८ गते सम्म सिम्रौनगढ नगरपालिका ,पचरौता नगरपालिका आर्दश कोतवाल गाउँपालिका ,सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जनाईएको छ ।